
राजदूतावासबाट हामीलाई प्राप्त PDF पत्रको सक्कल
Link : https://nepalimigrantshome.files.wordpress.com/2020/01/massage-ambassador.pdf
शुभकामना सन्देशको पूर्णपाठ
सर्वप्रथम नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वेलायतमा रहेर नेपाल र नेपालीका लागि र वेलायतको नेपाली डायस्पोरा विकास र विस्तारमा सक्रिय युवाहरुको सोच र संलग्नतामा प्रकाशन हुनलागेको ‘परदेशी’ को सफलताको निम्ति हार्दिक शुभेच्छा व्यक्त गर्न चाहन्छु ।
दुई सय चार बर्ष लामो सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको मित्रराष्ट्र वेलायतले नेपालको आर्थिक, सामाजिक, शैक्षिक र प्राविधिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । यी दुई राष्ट्रहरुबिचको सम्बन्ध सरकारिस्तरमा मात्र नभई जनस्तरसम्म पनि विस्तार भएको छ । यस महान राष्ट्रमा एक लाखभन्दा बढी नेपालीहरु विभिन्न पेशा र कार्य गरी बसोबास गरिरहनु भएको छ । यहाँ रहनु भएका नेपालीहरुमा एकता, भ्रातृत्व, सहिष्णुता र समझदारी अभिवृद्धि गरी बेलायतमा नेपालका भाषा, मातृभाषा, साहित्य, कला, संगीत, संस्कार, संस्कृति, पोशाक, परिकार, पर्व र परम्पराहरुको संरक्षण र सम्वर्धन गर्न नेपाली राजदूतावास प्रतिवद्ध र प्रयत्नशील रहेको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, स्वतन्त्र, अखण्ड र सार्वभौम सत्तासम्पन्न लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र हो । हामी नेपालीहरुले शदियौंदेखि हाम्रो राष्ट्रको विविधताको विशेषता र विविधतावीचको एकताको विशिष्टतालाई जोगाउँदै आएका छौं । हामीले बेलायतमा रहँदा पनि नेपालीपन र नेपाली मन जोगाउँदै हाम्रो विविधताको विशेषता बचाउनु परेको छ र विविधतावीचको एकताको विशिष्टतालाई पनि जोगाउनु परेको छ । ‘परदेशी’ जस्ता रचनात्मक र सकारात्मक कार्यहरुले वेलायतको प्रवासमा पनि हाम्रो भाषा, साहित्य, कला, संगीत, संस्कृति, पर्व, परम्परा र सभ्यता जीवन्त राख्न र हामी नेपालीहरुवीचको सदभावना, सहभावना, सहकार्य र भ्रातृत्वपूर्ण एकतामा थप योगदान पुग्ने मेरो विश्वास रहेको छ ।
नेपाल सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ को महान अभियान लिएर मुलुकमा समृद्धि र दिगो विकास ल्याउन प्रतिवद्ध र प्रयत्नशील रहेको छ । सन २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने घोषणा गरेर बीस लाखभन्दा बढी विदेशी पर्यटकहरु नेपाल भित्र्याउने लक्ष्य नेपाल सरकारले राखेको छ । हाम्रो नेपाली राजदूतावासले पनि वेलायतबाट एक लाखभन्दा बढी पर्यटकहरु नेपाल पठाउने लक्ष्य लिएर विभिन्न कार्यक्रमहरु अघि बढाइरहेको छ । यी कार्यक्रमहरुमा ‘परदेशी’ समूहको सहयोग र सहकार्यको हामीले अपेक्षा गरेका छौं ।
‘परदेशी’ ले वेलायतमा नेपाल र नेपालीको परिचय, पहिचान र प्रतिष्ठा बढाउने कार्यमा महत्वपूर्ण योगदान गर्नेछ भन्ने आशा व्यक्त गर्दै ‘परदेशी’ ले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत सार्थक योगदान पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।
वेलायतबासी समस्त नेपालीहरुको सुख, सुस्वास्थ्य, समृद्धि, शान्ति र प्रगति होस ।
नेपाल–बेलायत सम्बन्ध अमर रहोस ।
२०७६ ।९। ९१.१.२०२००
डा. दुर्गा बहादुर सुवेदी क्षेत्री
राजदूत
संयुक्त अधिराज्य (वेलायत)का लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीले आफ्नो ब्यस्त समयका वावजुद पनि ‘परदेशी’ को सफलताको लागि शुभकामना संदेश पठाई हामीलाई हौसला प्रदान गरिदिनु भएकोमा हामी वहाँ र रादूतावास परिवार प्रति हार्दिक धन्यवाद दिन चाहान्छौं।
परदेशीको नियमित पाठक बन्नका लागि
शुभ कामनाहरु