गीत तथा संगीतकार योगेश अमात्यले “लोग्ने मानिस भएर रुनु हुन्न रे”भन्ने एउटा गीत गाएका छन् । गीतको आशय नेतृत्वकारी भूमिकामा रहेको पुरुष रुने, कमजोर देखिने वा अस्थिर देखिने हो भने उसको नेतृत्व विस्तारै असफल घोषित हुँदैजानेछ । सारा जनमानस नै कमजोर हुन्छ । समाजको प्रतिरोधात्मक क्षमता कमजोर देखिन्छ । यस्तो वेलामा लिएका निर्णय सही नहुन सक्छन् । त्यसैले घरको मुलीले कमजोर देखिन नहुने सन्देश उक्त गीतले दिएको बुझ्न सकिन्छ ।
यो कुराले कताकता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो व्यवहारसँग मिलेको हो कि जस्तो लाग्न थालेको छ । अमेरिकी जनताहरु कोरोना भाईरसबाट जीवन माग्दै गरेका वेला उनले गरेका व्यवहार र प्रतिक्रियाहरु यौटा अत्तालिएको अधैर्य मानिसले देखाउने व्यवहार जस्तै देखिएको छ ।
सबैभन्दा पछिल्लो समय उनले संयुक्त राष्ट्र संघ अन्तरगतको विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सदस्यता एवं सहयोग वापत दिंदै आएको रकम बन्द गरिदिए । यसरी रोक्ने कारणमा संगठनले कोभिड-१९ (कोरोना भाईरस) सँग सम्बन्धित जोखियुक्त सूचनाहरु लुकाउन चीनलाई सघाएको भन्ने छ ।
कोरोना भाईरस चीनिया प्रयोगशालामा तयार गरेर छोडिएको आरोप पनि लगाइयो । चमेरो खाएर यस्तो भएको हो पनि भनियो । चीनले विश्वमा आफ्नो प्रभुत्व विस्तार गर्न यस्तो गरेको भन्ने आरोप छ तर ‘चीनलाई सघाएको’ आरोपमा सत्यता नरहेको कुरा विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ । सुरुमा राष्ट्रपति ट्रम्पले ‘चीनसँग कोरोनाबारे आफ्नो कुरा भईरहेको, सबै ठीक हुने, चीनले राम्रो गर्दैगरेको’ कुरा पनि गरेका थिए । अनि पीडित अमेरिकी जनतालाई कहिले मलेरियाको औषधी खान सुझाव दिए भने कहिले डीसइन्फेक्ट्याण्ट खान हुने भनेको समाचार पनि आए । राष्ट्रपति ट्रम्पको भनाईमा विश्वास गर्नुपर्ने आधार कम थिए। यसबाट मानसिक रुपमा चिनिया पक्षको दावी सत्य हो कि जस्तो देखियो!
चीनको हुयानमा देखिएको कोरोना भाईरस अमेरिका छिर्दासम्मको समयलाई पर्याप्त तयारिका लागि सदुपयोग नगरेर कहिले चीनलाई खिसी गर्ने, कहिले हामी ठीक छौं आत्तिनु पर्दैन भन्ने जस्तो उरन्ठेउलो व्यवहार विश्वका नेताले प्रदर्शित गरेकोमा उनी आफ्नै जनताबाट आलोचित हुन पुगेका छन् । वास्तवमा कोरोनाका कारण विश्वभर अत्तालिएका जनसमुदायलाई अमेरिकाले आशा जगाउन सक्नु पर्थ्यो ।
दु:खका वेला सहानुभूति आदान प्रदान गर्नुपर्ने, सामुहिक प्रयास र एकताको हात बढाएर कोरोनालाइ परास्त गर्नुपर्नेमा समस्यालाई राजनीतिकरण गर्नु आफैमा नमिठो अनुभव हुन्छ । विश्वमा प्रजातान्त्रिक मान्यताको नेतृत्व गर्दै आएको अमेरिका प्रति अहिले पनि भरोसाको त्यान्द्रो टुटेको छैन । अमेरिकाले नेतृत्व गरिरहन सकोस भनेर आशा राख्नेहरु छन्; तिनीहरुलाई निराश बनाउनु हुँदैन। त्यो अवसर अब ईतिहासको पन्नामा सीमित भईसकेको छ ।
सतहमा अस्थिर मानसिकताको उपज देखिने यी सबै व्यवहार अमेरिका जस्तो मुलुकको राष्ट्रपतिले नजानिकन गरे होलान भन्न सकिन्न। सम्भवत: ग्लोबलाइजेसनको ‘डिस्कोर्स’ सकिएको महसुस गरेका राष्ट्रपति ट्रम्पले अमेरिकालाई ‘फस्ट’ बनाउन कुनै ‘नयाँ व्यवस्था’ को कार्यान्वयनका लागि पुरानो व्यवस्थालाई ‘डिफ़्युज’ गराउन लागे होलानभन्दा तार्किक देखिन्छ कि !